८ मंसिर, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन् ।
प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए।करिब १० मिनेट बल्खुमा समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका थिए ।यसै विच जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको बताएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईंको समूहले कुनै समन्वयन नगरी कार्यक्रम घोषणा गरेको बताएका छन् ।