२४ कात्तिक मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दु गाउँमा एकैपरिवारका चार जनाको हत्या भएको प्रकरणमा प्रहरीले बाँकेबाट दुई जनालाई पक्राउ गरेको छ ।नेपालगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेर मुगुतर्फ लगेको प्रहरी उच्च स्रोतले बताएको छ । गएको १० कात्तिकमा मन्दु गाउँमा आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा भेटिएका थिए ।पक्राउ पर्नेमा गोर्खबहादुर शाही र गोपाल बोहोरा रहेको प्रहरीले जनाएको छ ।घटनामा ज्यान गुमाउनेमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर थिए । हत्यापछि घरबाट सुनको औंठी, तिलहरी, लालपुर्जा र केही नगद समेत गायब भएको थियो ।सीआईबीका एक अधिकृत भन्छन्, ‘हालसम्मको अनुसन्धानले हत्यामा लुटपाट मात्रै कारण भएको देखाएको छ ।’ पक्राउ परेकाहरुले अभियाग स्वीकार गरेको समेत प्रहरी अधिकृतहरुले बताएका छन् । पक्राउ परेकाहरुलाई शुक्रबार मुगुमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी तयारी छ ।