१७ कात्तिक, विराटनगर । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् ।मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रालय तोकिएको छैन ।नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले आज शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् ।यसअघि कार्कीले एमालेसँग छलफल गरे पनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । कांग्रेस र माओवादी केन्द्रले एमालेबाट मन्त्री बनेका राम रानालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब दिएका छन् ।