१७ कात्तिक, सुर्खेत । भारतमा ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारतको कर्नाटक राज्यको अवजलपुरमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको हो ।मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।
गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गएराति उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू बिरामीलाई अस्पतालमा भएका उनलाई भेटेर फर्किने क्रममा दुर्टनामा परेका हुन् । वडाध्यक्ष धमलाका अनुसार रतनले चलाएको बाइकलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा थिए । नेपाली समुदायले घटनाको अनुसन्धानका लागि माग गरिरहेका बताइएको छ । गाउमा भने मृतकका परिवारको किरिया खर्च भनेर २० हजार सहयोग गर्ने निर्णय गरिएको धमलालले बताएका छन् ।