प्याजको मुल्य आकाश छुने तरखरमा

102Shares
प्याजको मुल्य आकाश छुने तरखरमा

१४  कात्तिक, काठमाडौं । असोज मसान्तमा कालीमाटीको होलसेल बजारमा ७६ रुपैयाँ रहेको सुकेको प्याजको मूल्य १३ कात्तिकमा अधिकतम् १ सय २० रुपैयाँसम्म पुग्यो । अर्थात्, गएको १३ दिनमै प्याजको मूल्य ४४ रुपैयाँ अर्थात् ६० प्रतिशतले बढेको छ । होलसेलमै ६० प्रतिशतसम्म मूल्य बढेपछि उपभोक्ताले खरिद गर्ने खुद्रा मूल्य दोब्बरसम्म पुगेको व्यवसायीहरु बताउँछन् ।नेपालमा खपत हुने अधिकांश प्याज भारतबाट आयात हुन्छ । भारतमा नै प्याजको मूल्य बढेको तथा प्रतिटन ८०० अमेरिकी डलर प्रतिकिलो १ सय ५ रुपैयाँ भन्दा कममा निर्यात गर्न नपाइने व्यवस्था लागु गरेपछि नेपाली बजारमा प्याजको मूल्य बढेको व्यवसायीहरुले दाबी गरेका छन् । तर, भारतले शनिबार मात्रै प्याजको निर्यातमा न्यूनतम मूल्य तय गरे पनि नेपालमा भने यसको मूल्य १३ दिनअघिदेखि नै आकाशिन थालेको हो ।अझ भारतको निर्याणअघि प्रतिकिलो १ सय २ रुपैयाँ प्रतिकिलो रहेको प्याजको मूल्यमा दुई दिनमा नै १८ रुपैयाँको बढोत्तरी भएको छ । जबकि, त्यो व्यवस्थापछि भारतबाट आयात भएको प्याज बजारमा आएकै छैन । तर, पहिल्यै आयात भएको वस्तुमा अस्वाभाविक मूल्य वृद्धि गरिनु कालोबजारी र उपभोक्ता माथिको अपराध भएको भन्दै अधिकारकर्मीहरुले सरकारलाई प्रभावकारी बजार अनुगमन गर्न माग गरेका छन् ।तर, कृत्रिम भन्डारण गरेर मूल्य बढाएको भन्ने आरोप व्यवसायीहरुले अस्वीकार गरेका छन् । भारतमा मूल्य उच्च भइरहेको र निर्यातमा पनि निश्चित रकमको सीमा तोकिदिएपछि नेपाली बजार प्रभावित बनेको कृषि उपज आलु प्याज आयात निर्यात थोक बिक्री संघका महासचिव प्रकाश गजुरेलले बताए