यस्तो छ गुटेरेसको नेपाल भ्रमणको पहिलो दिनको कार्यसूची

783Shares
यस्तो छ गुटेरेसको नेपाल भ्रमणको पहिलो दिनको कार्यसूची

१२ कात्तिक काठमान्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस चार दिने भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् ।उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।भ्रमणको पहिलो दिन आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री दाहालसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँ बानेश्वरमा महासचिव गुटरेसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।त्यस्तै महासचिव गुटेरेसले उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग पनि भेटवार्ता गर्नेछन्। भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।प्रधानमन्त्री दाहालले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्।भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्। मंगलबार अपराह्न ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।