५ कात्तिक काठमान्डौ । काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ः३९ बजे काठमाडौंमा आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो।पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ। आइतबार बिहान काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि धक्का महसुस गरिएको छ।धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६।१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए । सर्वसाधारणहरू दसैँको मुडमा व्यस्त रहेका बेला भूकम्प आएपछि त्रासको अवस्था सिर्जना भएको छ ।यो २०७२ वैशाख १२ को उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्प हो कि नयाँ कम्पन हो भनेर राष्ट्रिय भूकम्प मापन केन्द्रले खुलाइसकेको छैन।