राष्ट्रपतिबाट कैद माफी पाएका व्यक्तिले गरे महिलाको हत्या

81Shares
राष्ट्रपतिबाट कैद माफी पाएका  व्यक्तिले गरे महिलाको हत्या

२ कार्तिक, रुकुम। राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेल मुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएको छ ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैद मुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोक बहादुर बिकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।लोकबहादुरले मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ुडीएसपीु नमराज भट्टराईले जानकारी दिए । भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्विकार गरेको, दशीप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले लोकहादुरलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । लोकबहादुर गत असोज ३ गते नवौ संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी गरिएपछि कैद मुक्त भएका व्यक्ति हुन् । उनै लोकबहादुरले कैद मुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका –१ खलङगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ ।अघिल्लो दिन होटेल पुगेका उनीहरूले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान् श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्वर १ बुक गरेका थिए । दुवै जना २९ गते बिहान १० बजेबाट सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो । लोकबहादुरले भावनाको घाँटीमा धारिलो चक्कु प्रयोग हत्या गरेको डीएसपी भट्टराईले बताए । अनैतिक सम्बन्ध र आर्थिक लेनदेनको कारण हत्या भएको प्रहरीको भनाई छ ।मृतकको श्रीमान् र हत्या आरोपीको श्रीमती हाल वैदेशिक रोजगारीमा रहेको बताईन्छ । प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रूपैयाँ र प्रतिवादीको मोबाइल समेत बरामद गरेको छ प्रतिवादी कारागार मुक्त भए यता २५ दिनमा १२४ पटक दुई जना बीचमा मोबाइलमा कुराकानी भएको, प्रतिवादी कारागारमा रहँदा मृतक दुई पटक भेट्न गएको कुरा खुल्न आएको प्रहरीले उल्लेख गरेको छ ।मृतक भावना गत बर्ष भएको स्थानीय तह निर्वाचनको बेला म्यादी प्रहरीमा भर्ना भएर सानीभेरी गाउँपालिका कार्यक्षेत्रमा खटिएकी थिईन् । सानीभेरी ९ सिम्लीमा रहेको हत्या आरोपी लोकबहादुरको होटेलमा म्यादी प्रहरीले खाना खाने गरेका थिए । प्रहरीका अनुसार त्यतिबेलै देखि दुवै जना नजिक भएर अनैतिक सम्बन्धमा गाँसिएको पाईन्छ ।हत्या आरोपी लोकबहादुरले बहुविवाह मुद्दामा रुकुम कारागारमा कैद भुक्तान गरेका थिए । उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाइएका लोकबहादुर २०७९ फागुन १४ गते कैद परेका थिए । अन्तिम फैसला नहुँदा त्यसअघि उनले २४ दिन कैद भुक्तान गरेका थिए २०८० माघ १९ गते कैद मुक्त हुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएको थियो ।