८ असोज लमजुङ । लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई रक्सीले मातेका वडाध्यक्षले कुटपिट गरेका छन्।
बेसीशहर नगरपालिका ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टर अधिकारीलाई कुटपिट गरेका हुन्।वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेत आएर कुटपिट गरेको अस्पतालका डाक्टर सुदर्शन आचार्यले बताए।
अस्पताल पुगेर नर्ससँग अश्लील शब्द प्रयोग गर्दै होहल्ला गर्न थालेपछि बस्नेतलाई डाक्टरले तपाईं के गर्नुहुन्छ भनेर सोधेका थिए। जवाफमा बस्नेतले आफू ‘सभ्य नागरिक’ भएको भन्दै नर्सिङ कक्षमै डाक्टरलाई मोबाइलले झटारो हानेका थिए। उक्त मोबाइलले डाक्टरको छातीमा लागेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।