सप्तकोशीमा पानीको वहाव २५ वर्षयताकै उच्च

60Shares
सप्तकोशीमा पानीको वहाव २५ वर्षयताकै उच्च

सुनसरी,

सप्तकोशी नदीमा पानीको बहाव २५ वर्षयताकै उच्च भएको छ । पहाडी जिल्लामा भएको भारी वर्षाको कारण पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले पानीको बहाव अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको र यो रेकर्ड २५ वर्षदेखि यताकै उच्च भएको जानकारीमा आएपनि पुष्टि हुन भने बाँकी रहेको बताए । ‘बाहिर मानिसहरुले त्यही भनिरहेका छन्, यो रेकर्ड २५ वर्षयताकै उच्च हो भनेर, तर त्यसको भेरिफाइ गरिरहेका छौं,’ ढकालले भने ।

सप्तकोशी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् । पानीको बहाव उच्च हुँदा मात्रै सबै ढोका खोलिने गरेको छ । एसपी ढकालले स्थिति खतरामुक्त रहेको भएपनि ठूला सवारी साधनलाई ओहोरदोहोर गर्न आलोपालो गराइरहेको छ । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्यसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो ।

यस्तै गत वर्ष साउन १८ गते उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पोइन्टबाट सप्तकोसी नदीको बाढी बस्तीमा पसेको थियो । यस्तै वि.सं २०६५ भदौ २ गते दिउँसो सप्तकोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिकरुपमा प्रभावित भएका थिए । त्यसबेला सात हजार ५६३ परिवारका ४२ हजार ७६५ जना स्थानीय विस्थापित भएका थिए ।