काठमाडौं,
निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामासहित ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारी कार्यालयमा ताला लगाई धर्ना दिने तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत नेपाल निर्माण व्यवसायी महासंघले आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन खोजेपछि ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहका अनुसार उनीहरूलाई प्रहरीले ताला लगाउनबाट रोक्न खोजेको थियो ।
तर जबरजस्ती ताला लगाएको भन्दै प्रहरीले दुई कार्यालयबाट ४५ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूले तालाबन्दीसँगै ती कार्यालयमा धर्ना पनि दिएका थिए ।
उनीहरूले सरकारसँग काम गरेबापतको रकम भुक्तानीको माग गरेका छन् । त्यस्तै ठेक्काको म्याद थप गर्नुपर्ने पनि उनीहरूको माग छ ।
महासंघले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।
यसअघि दोस्रो चरणको आन्दोलन अन्तरगत निर्माण व्यवसायीहरूले बालुवाटारदेखि संसद् भवन अगाडि धर्ना दिएका थिए ।
व्यवसायीहरूले सही प्रश्न उठाएको जानकारी हुँदासमेत सरकार बेखबर बनेको भन्दै आन्दोलन कर्मीहरुले आरोप लगाएका छन् ।