आगामी ३ दिन आत्यधिक बर्षाको सम्भावना, सतर्क रहन आग्रह

60Shares
आगामी ३ दिन आत्यधिक बर्षाको सम्भावना, सतर्क रहन आग्रह


मनसुनको न्यून चापीय रेखा क्षेत्र नेपालतिर सर्न लागेकालेआगामी तीन दिन देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार,  शनिबार राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारी तथा देशभरिका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा नजिक पर्दा पानी धेरै पर्छ। यो रेखा अहिले नेपाल नजिक आइपुगेको विभागले जनाएको छ। जसले गर्दा धेरै पानी पर्ने देखिएको हो।

विभागले सार्वजनिक गरेको विशेष मनसुन बुलेटिन-४ का अनुसार आइतबार पनि देशका धेरै स्थानमा सामान्यदेखि मध्यम वर्षा हुनेछ। केही स्थानमा भने अत्यधिक वर्षा हुने सम्भावना छ।

सोमबार पनि अधिकांश प्रदेशमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा अत्यधिक वर्षा हुन सक्नेछ।

विभागले शनिबारदेखि सोमबारसम्म पहाडी भूभागमा पहिरो र गेग्रान बहावको सम्भावना रहेको, शहरी क्षेत्रमा डुबान हुन सक्ने तथा देशका साना–ठूला नदीको सतह बढ्ने अनुमान गरेको छ। विभागले सडक र हवाई यातायात अवरुद्ध हुन सक्ने भएकाले सचेत हुन सबैलाई आग्रह गरेको छ।