दाङ,
रोल्पामा मंगरबार दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परेर चार जनाको मृत्यु भएको जसमा एक महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्याम सारु मगरले नयाँ शिरालाई जानकारी दिए ।
मृतकहरुको सनाखत हुन भने बाँकी रहेको छ ।
घटनामा १९ जना घाइते भएका छन् । सहिद मार्गअन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको त्रिबेणी गाउँपालिका – ७ को तिलामा दिउँसो १ बजेतिर दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको थियो । बसमा २५ जना यात्रु सवार रहेका थिए । दुर्घटना लगतै चालक फरार भएका थिए । एक घन्टापछि उनी सम्पर्कमा आएको डीएसपी मगरले बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सात जना घाइतेलाई थप उपचारका लागि दाङको घोराहीतर्फ पठाइएको छ ।