मंगलबार, ९ साउन, २०८०,
काठमाडौं,
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा १ ख २२३६८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोकिदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको प्रनाउ पण्डितले बताए ।
दुर्घटनाको कारण अवरुद्ध भएको सडक दुर्घटना ग्रस्त सवारीसाधन पन्छाएर पुःन सञ्चालनमा ल्याइएको छ ।