शनिबार, ६ साउन, २०८०,
काठमाडौं,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटली जाने भएका छन् ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटली जान लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी छन् ।
उक्त टोली साँझ ६ बजे कतार एअरलाइन्सको उडानमार्फत इटली जाने तयारी छ ।
प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ’प्रचण्ड’को इटली भ्रमण स्वीकृत गरेको थियो ।
उनी चारदिनपछि स्वदेश फर्कने छन् ।