सुन प्रकरण : एक क्वीन्टल सुनको खुलासा पश्चात प्रहरीको अर्को छापा

39Shares
सुन प्रकरण : एक क्वीन्टल सुनको खुलासा पश्चात प्रहरीको अर्को छापा

बिहिबार, ४ साउन, २०८०,

काठमाडौं,

आज सरकारी अधिकारी र प्रहरीले एक घरमा छापा हानेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्वीन्टल सुन बरामद प्रकरणसँग जोडिएको बालुवाटारस्थित एक घरमा छापा मारेका हुन् ।

सुन तस्करीमा संलग्नहरुले सुनसहितको ‘ब्रेक सु’ राख्न भाडामा लिएको घरको बालुवाटारस्थित कोठामा सशस्त्र प्रहरी बलको सहयोग लिएर राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको विभागको उच्च स्रोतले जनाएको छ ।

छापाकाक्रममा कोठामा ५/६ वटा ठूला बाकस फेला परेका छन् । स्रोतका अनुसार त्यसभित्र भएको वस्तुमा सुन भए/नभएको जाँच हुन बाँकी रहेको र अहिले ती बाकसलाई शील गरिएको छ ।

केहि समय अगाडि विभागले पक्राउ गरेका ट्याक्सी ड्राइभर अशोक लामाले बयानका क्रममा सुन बालुवाटारस्थित उक्त घरमा पुर्याउने जिम्मेवारी आफूले पाएको खुलाएका थिए । तर, त्यसमा सुन रहेको आफूलाई थाहा नभएको उनले बताएका छन् ।

लामाको बयानपछि राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको टोलीले बालुवाटारस्थित उक्त घरमा छापा मारेको हो । त्यसपछि सुन तस्करीमा संलग्न समूहले प्रयोग गरेको उक्त कोठालाई शील गरिएको छ ।

स्रोतका अनुसार, यसअघि पनि विमानस्थलबाट आएको सामान त्यही कोठामा लगेर भण्डारण गरेको पाइएको छ । कोठा भाडामा लिने भन्दै सोध्दै जाँदा विभागका अधिकारीहरु चिनियाँ नागरिक जीक्वाङ लिनसम्म पुगेका थिए ।

राजश्व अनुसन्धान विभाग र प्रहरीको थप अनुसन्धान जारी छ ।