सोमबार, २५ असार, २०८०,
काठमाडौं,
मृतक महिलाका नाममा रहेको जग्गा नामसारी गरी अर्कै मान्छेका नाममा लगी बेचबिखन गरेको आरोप लागेका मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत फणीन्द्र भट्टराईसहित चारजनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरी सजाय तोकेको छ ।
उक्त मुद्दामा मालपोत कार्यालय धरानका खरिदार श्यामप्रसाद लोले सफाइ पाएका छन् भने बाँकी चारजनामाथि कसुर कायम भएको छ । ‘चारैजना प्रतिवादीलाई जनही तीन–तीन महिना कैद र १०–१० हजार रुपैयाँ जरिवाना भएको छ,’ विशेष अदालतका उपरजिस्ट्रार नारद भट्टराईले जानकारी दिए ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले सोमबार यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको चार वर्षमा विशेषले आंशिक ठहरको फैसला गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका– १४ बस्ने कर्णबहादुर राईले मृतक खगेन्द्रकुमारी गिरीलाई खगेन्द्रकुमारी राई बनाएर आफ्नो नाममा नामसारी गरेका थिए । दुई कित्ता जग्गालाई नाम फेरेर आफ्नो नाममा ल्याएका राईलाई समेत सजाय भएको हो । उनले गिरीका हकदारका नाममा ल्याउन बाँकी नै रहेको जग्गा आफ्नो नाममा ल्याएका थिए ।