सत्ता विपक्षी दलहरुले अवरोध गरेपछि, प्रतिनिधि सभा वैठक एक घण्टाकालागि स्थगित

777Shares
सत्ता विपक्षी दलहरुले अवरोध गरेपछि, प्रतिनिधि सभा वैठक एक घण्टाकालागि स्थगित

आइतवार, २१ जेठ, २०८०,

काठमाडाैं,

सत्ता विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।

आइतबार संसदको बैठक सुरु भए लगतै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलले १७ जेठमा नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । दुवै सदनले दुईपटक पारित गरेर पठाएको विधेयक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपती कार्यालयमा थन्क्याएर राखेकी थिइन । मन्त्रिपपिरषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह सहितको पत्र राष्ट्रपतिलाई १२ जेठमा लेखेपछि राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

सभामुख घिमिरेले यथास्थानमा बसेर बैठक सन्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरुले बैठकमा नाराबाजी गरेका थिए । त्यसपछि सभामुख घिमिरेले एक घण्टाका लागि बैठक स्थगित भएको जानकारी गराए ।