कोशी प्रदेशको बजेट अधिवेशन अगावै, प्रदेश सभा घेर्ने पहिचानवादीको तयारी

57Shares
कोशी प्रदेशको बजेट अधिवेशन अगावै, प्रदेश सभा घेर्ने पहिचानवादीको तयारी

आइतबार, १४ जेठ, २०८०

कोशी प्रदेशको प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आज दिउँसोदेखि सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो बैठक दिउसो २ बजेका लागि बोलाइएको छ ।

प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै आज बिहानैदेखि पहिचानवादीहरुले प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् ।

गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका पहिचानवादीले आज बिहानैदेखि प्रदेश सभा अगाडि प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
प्रदेशको नाम संसोधन गर्ने थलो प्रदेश सभा नै रहेकाले प्रदेश सभा केन्द्रित आन्दोलन सुरु गरेको आन्दोलनका नेता प्रेम येक्तेनले वताए । पहिचान आन्दोलनकर्ताहरुले प्रदेश सभा भवन घेर्ने तयारी गरेको र आन्दोलन शान्तिपूर्ण हुने उनको भनाई छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेश सभा अधिवेशनको प्रथम बैठकको कार्यसूची तयार भइसकेको र प्रदेश प्रमुखले पठाएको पत्र सुनाएपछि प्रदेश ऐन संसोधन विधेयक पेस हुनेछ । प्रदेश सरकारले जारी गरेको २ वटा अध्यादेश टेवल गर्ने र दलका तर्फबाट सम्बोधन गर्ने कार्यसूची पनि छ ।

नामाङ्कनपछि पहिलो पटक आज बैठक बस्दैछ । गत फागुन १७ गते नाम राखेपछि स्थगित भएको प्रदेश सभाको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भएको थियो ।