विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

360Shares
विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

शनिबार, १३ जेठ, २०८०,

जिल्ला प्रशासन कार्यालय, मोरङले आज बिहानदेखि निषेधाज्ञा जारी गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सूचना प्रकाशित गरेका हुन् उक्त प्रकाशित गरेको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्म निषेधाज्ञा लागू गरिएको जनाएको छ ।

स्थानीय प्रशासनले प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिणमा जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको तीन सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना लगायतका कार्यक्रम गर्न नपाइने जनाइएको छ ।

यी क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरेमा कारबाही गर्ने चेतावनी दिएको छ।

प्रदेशको नाम कोशी राखेकोमा विरोध गर्दै आन्दोलन चलिरहेको छ । पहिचान पक्षधरले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गरिरहेका छन् ।

आन्दोलनका क्रममा एक जनाले ज्यान गुमाइसकेका छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने संघर्ष समितिले जनाएको छ ।