लुम्बिनीका १५ स्थानीय तहमा पूर्वाधार कार्यक्रम

774Shares
लुम्बिनीका १५ स्थानीय तहमा पूर्वाधार कार्यक्रम

२०८१ असार १८ गते दाङ– लुम्बिनी प्रदेशका १५ स्थानीय तहमा स्थानीय पूर्वाधार विकास सहयोग कार्यक्रम सञ्चालन गरिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा बेलायत सरकारको आर्थिक सहायतामा सञ्चालन कार्यक्रमका लागि १५ वटा स्थानीय तह छनोट भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विकास सहायता समन्वय शाखाले २०८१ वैशाख १७ मा सूचना प्रकाशन गरेर कार्यक्रममा सहभागिताको लागि आह्वान गरेको थियो ।

इच्छुक पालिकाहरूलाई २०८१ जेठ ७ भित्र प्रस्ताव पठाउन भनिएको थियो । प्राप्त भएका प्रस्तावमध्येबाट मापदण्डका आधारमा छनोट गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको समय सीमा भित्र लुम्बिनी प्रदेशका ६९ र कर्णाली प्रदेशका ५१ पालिका गरी १२० पालिकाले प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विकास सहायता समन्वय शाखाका अधिकृत संजय अधिकारीले जानकारी दिए ।

प्राप्त प्रस्तावमध्ये मूल्यांकनको आधारमा लुम्बिनी र कर्णाली प्रदेशका ५ वटा नगरपालिका, १५ वटा गाउँपालिका छनोट भएको उनको भनाइ छ । लुम्बिनी प्रदेशका परिवर्तन गाउँपालिका, विजय नगरपालिका, बंगलाचुली, सुनछहरी, त्रिवेणी, खजुरा, मालिका, लुंग्री गाउँपालिकामा यस प्रकारको कार्यक्रम सञ्चालन हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यसैगरी काली गण्डकी, मल्लरानी, सिस्ने, शितगंगा, मुसिकोट , तानसेन गाउँपालिका र कोहलपुर नगरपालिकामा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम सञ्चालन हुने भएको हो । कर्णाली प्रदेशका छार्का ताङसोङ, गुँरास, शिवालय, जगदुल्ला र तिलागुफा नगरपालिका छनोट भएका छन् । छनोट भएका पालिकामा लागत साझेदारीमा काम हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विकास सहायता समन्वय शाखाले बताएको छ ।

पालिकाको ४० प्रतिशत लागतमा सहभागिता हुनुपर्ने छ । ठूला योजनामा पालिकालाई काम गर्न यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ । पालिकाले नयाँ योजनाभन्दा पनि भइरहेका योजनाहरूको कार्यान्वयनमा काम गर्नु पर्ने मन्त्रालयले बताएको छ । पूर्वाधार निर्माण, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा स्थानीय पालिकाको आवश्यकता अनुसार काम गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

‘पालिकाले प्रस्ताव पेश गर्दा गरेको प्रतिबद्धता अनुसार काम गर्नुपर्ने छ,’ मन्त्रालयका अधिकारीले भने,‘प्रतिबद्धताभन्दा बाहिर गएर काम गर्ने पाइने छैन’ । आर्थिक रूपमा कमजोर तथा सुुशासन र पारदर्शिताको हिसाबले राम्रो रहेका पालिकाहरूलाई प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ । यस प्रकारको कार्यक्रम कार्यान्वयनमा आउँदा आर्थिक वर्षको सुरुवातसँगै सुरु हुने बताइएको छ ।

स्थानीय पूर्वाधार विकास सहयोग कार्यक्रम पालिका र मन्त्रालयको साझेदारी रूपमा सञ्चालन हुने कोलहपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलराज ढकालले जानकारी दिए । आफूहरूले प्रस्ताव पेश गरे अनुसारका योजनाहरूमा काम गर्ने उनको भनाइ छ । अहिले कुन पालिकालाई कति बजेट विनियोजन गरिएको भनेर जानकारी आइ नसकेको उनले बताए ।KAROBAR