१३ मंसीर काठमान्डौ । हिंसात्मक द्वन्द्व भइरहेको भारतको मणिपुरमा सक्रिय सबैभन्दा पुरानो अतिवादी संगठन युनाइटेड नेशनल लिबरेशन फ्रन्ट यूएनएलएफ हतियार बिसाउन तयार भएको छ।केन्द्रीय गृहमन्त्री अमित शाहका अनुसार बुधबार सरकारसँग शान्ति सम्झौतामा हस्ताक्षर गर्दै संगठन हिंसा त्याग्न सहमत भएको हो।यो सम्झौताले सम्पूर्ण उत्तर पूर्व, विशेष गरी मणिपुरमा शान्तिको नयाँ युगको सुरूआत गर्ने विश्वास गरिएको छ।यूएनएलएफ मणिपुरको इम्फाल उपत्यकामा सक्रिय सबैभन्दा पुरानो सशस्त्र समूह हो।केन्द्रीय गृहमन्त्री शाहले यो समूह हिंसा त्यागेर शान्तिपूर्ण आन्दोलनमा आउने सहमति हुनुलाई कोसेढुंगा भनेका छन्।उनले भारत सरकार र मणिपुर सरकारले यूएनएलएफसँग गरेको शान्ति सम्झौताले ६ दशक लामो सशस्त्र आन्दोलनको अन्त्य भएको बताए। मे ३ मा राज्यमा जातीय हिंसा भड्किएपछि उपत्यकामा प्रतिबन्धित संगठनले सरकारसँग शान्ति वार्ता गरेको यो पहिलो पटक हो।नोभेम्बर १३ मा केन्द्रीय गृह मन्त्रालयले गैरकानुनी गतिविधि रोकथाम ऐन यूएपी अन्तर्गत आठ चरमपन्थी संगठनहरूलाई प्रतिबन्ध लगाउँदै तिनीहरूलाई गैरकानुनी संगठन घोषित गरेको थियो। प्रतिबन्धित समूहमा यूएनएलएफ पनि समावेश थियो।