२ असोज, काठमाडौं । क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध थप पेचिलो बनेको छ । क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको छ ।
भारत र क्यानडाको कूटनीतिक सम्बन्धमा तिक्तता बढेपछि दुबै देशले एक–अर्काका एक–एक जना कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानी टाइगर फोर्स केटिएफका प्रमुख हरदिप सिंह निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तनाव चुलिएको हो ।गत असारमा खलिस्तानी टाइगर फोर्स प्रमुख निज्जारको गोली हानी हत्या गरिएको थियो । सोमबार संसदमा बोल्दै प्रधानमन्त्री ट्रुडोले निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएका थिए । एउटा क्यानडेली नागरिकको हत्या सह्य नहुने उनको भनाइ थियो ।त्यसपछि क्यानडाले एक जना भारतीय कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेको थियो । मंगलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न भनेको जानकारी गराएको छ । भारतले क्यानडाका एक उच्च कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ । भारतका लागि क्यानडाका राजदूतमार्फत मंगलबार यस्तो निर्देशन दिइएको हो ।