साेमबार, १५ साउन, २०८०,
काठमाडौं,
रुसले युक्रेनमाथि मस्कोमा ड्रोन हमला गरेको आरोप लगाएको छ तर युक्रेनी अधिकारीले भने हमलाको जिम्मेवारी लिएको छैन ।
रुसको रक्षा मन्त्रालयका अनुसार एक ड्रोन ओदिनसोवो जिल्लामा खसालिएको छ र प्रहार गर्ने बेलामा अन्य दुई ड्रोन केही भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । यो हमलाका कारण दुई भवन क्षतिग्रस्त भएको र केही बेरका लागि सहरको एक विमानस्थल पनि बन्द गर्नु परेको बताइएको छ ।
रुसको सरकारी समाचार एजेन्सी तासले बताए अनुसार यो हमलामा एक व्यक्ति घाइते भएका छन् ।
घटनास्थलबाट सार्वजनिक भएको तस्बिरमध्ये एकमा भवनका केही झ्यालमा क्षति पुगेको देखिएको छ । लिया नामकी एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा आफूले आगो र धुवाँ मात्रै देखेको बताइन् ।
वनुकोवो विमानस्थलबाट विमानको आवतजावत केही बेरका लागि रोकियो ।