सोमबार, २ साउन, २०८०,
काठमाडौं,
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच सोमबार भेटवार्ता भएको छ ।
संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भएको भेटमा स्वास्थ्य मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पु¥याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरेको नेपाली दूतावास लन्डनले जनाएको छ ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य समेत सहभागी भएको उक्त भेटमा बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्सले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरूको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने विश्वास व्यक्त गरेको दूतावासले उल्लेख गरेको छ ।
स्वास्थ्य मन्त्री बस्नेतले आइतबार विन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालीम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सहरूको तालीम तथा स्थानान्तरण प्रक्रियाबारे जानकारी लिएका थिए ।