मंगलबार, २६ असार, २०८०,
काठमाडौं,
उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढी पहिरामा परी कम्तीमा २९ जनाको ज्यान गएका छन् । कैयौँ घाइते भएका छन् ।
बाढीपहिराका कारण पुलपुलेसा भत्किएका छन्, सडक अवरुद्ध भएका कारण धेरै क्षेत्रहरू अगम्य बनेका सरकारी अधिकारीहरूले बताएका छन् ।
टेलिभिजन फुटेजमा सबैभन्दा बढी प्रभावित क्षेत्र हिमाचल प्रदेशको पहाडी भेगमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरो, सवारीसाधन बगाएको, भवन र पुलहरू भत्काएको देखाइएको थियो ।
‘विगत दुई दिनमा, हिमाञ्चल प्रदेशमा मनसुनको वर्षाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ,’ राज्यको प्रकोप व्यवस्थापन प्रमुख ओमकार शर्माले भनेका छन् । राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र कस्मिरका हिमाली क्षेत्रहरूमा थप नौजनाले ज्यान गुमाएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार हिमाञ्चल प्रदेशको लाहौल–स्पिती र कुल्लुका क्षेत्रहरूमा पर्यटकसहित करिब तीन सयजनालाई उद्धार गर्न हेलिकोप्टर पठाउने प्रयास भइरहेको छ । प्रतिकूल मौसमका कारण उडान गर्न सकिएको छैन ।
यसैबीच, एएनआईका अनुसार पन्जाब, उत्तराखण्ड र हिमाञ्चल प्रदेशका बाढीपीडितलाई सघाउन राष्ट्रिय आपद् प्रतिकार्य बल (एनडिआरएफ) ११ टोली तैनाथ गरिएका छन्। लगातार तेस्रो दिनको वर्षाले यी राज्यमा उद्धार तथा राहतका काम सहजतापूर्वक सञ्चालन गर्न सकिएको छैन । तर, एनडिआरएफका कर्मचारीले हरसम्भव काम गरिरहेका छन् ।
वर्षाका बीच र राति पनि उद्धारलाई जारी राखिएको, पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी राज्य प्रशासनका उच्च अधिकारीहरूको प्रत्यक्ष निगरानीमा राहत सामग्री प्रदान गरिएको छ । अलपत्र परेका मानिसहरूलाई पनि एनडिआरएफका जवानले उद्धार गरिरहेका छन् । (रासस)