बङ्गलादेशमा आरक्षण विराेधी प्रदर्शन : ज्यान गुमाउनेकाे सङ्ख्या २५ पुग्याे

30Shares
बङ्गलादेशमा आरक्षण विराेधी प्रदर्शन : ज्यान गुमाउनेकाे सङ्ख्या २५ पुग्याे

२०८१ श्रावण ४ गते  काठमाडौं ।बङ्गलादेशमा आरक्षणको विरोधमा भइरहेको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या २५ जना पुगेको छ । प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएका र देशभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ । आरक्षण विरोधी प्रदर्शन चर्किँदै गएपछि सरकारले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेको छ ।

आरक्षणविरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा १९ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएका छन् ।

यसैबीच प्रधानमन्त्री शेख हसिनाको सम्बोधनपछि प्रदर्शन झन् हिंसात्मक बनेको खबरमा उल्लेख छ । प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा प्रदर्शनकारीहरूलाई धैर्य रहन आग्रह गर्दै अदालतको माध्यमबाट न्याय मिल्ने बताउनुभएको थियो । प्रदर्शनकारीहरूले भने प्रधानमन्त्रीले आश्वासन मात्रै दिएको र सरकारको तर्फबाट आफ्नो सपाइ पेश गरेको भन्दै देशव्यापी बन्दको आह्वान गरेका छन् ।

देशैभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ ।आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको छ । प्रदर्शनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन् ।

गएको महिना रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो । अदालतको यो फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो ।