विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बन्यो २४ घण्टामा युट्युबमा धेरै हेरिने नेपाली गीत

45Shares
विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बन्यो २४ घण्टामा युट्युबमा धेरै हेरिने नेपाली गीत

काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिवार सार्वजनिक गरेकी छन् ।

माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिवार सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।

विगत केही वर्षदेखि कतिपय तीज गीत विवादित हुने गरेका छन् । तीज गीतको विषयलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्धलगाउनेसम्मको अवस्था सिर्जना भएको थियो । यस वर्षपनि दर्जनबढी तीज गीत विवादमा मुछिएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापा मगरले तीज गीतमा देखिएको मौलिकताको खडेरीमा माझीको गीतले त्राण दिएको उल्लेख गर्नुभयो । उक्त गीतले पाएको चर्चा र प्रशंसालाई इङ्गित गर्दै उहाँले समाज सधैँ स्तरीय सिर्जनाको खोजीमा रहने हुँदा गायिका माझीको गीत त्यही कोटीमा परेको बताउनुभयो । कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिनेले तीज गीतलाई विकृत पारिरहेका बेला विष्णु माझीको गीतले उनीहरु निरुत्साहित बनेको उहाँको बुझाइ छ ।

वरिष्ठ लोकगायिका हरिदेवी कोइराला तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदि समेटिनुपर्ने मान्यता राख्नुहुन्छ । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माण गर्न तीज गीत सहयोगी बन्नुपर्ने उहाँको भनाइ छ ।

पौराणिककालदेखि तीज पर्व र गीतको बयान हुँदै आएको प्रसङ्ग जोड्दै उहाँले तीज गीतमा विशेष गरी नारी मुक्तिको आवाज मुखरित हुने गरेको स्मरण गर्नुभयो । बढ्दो व्यावसायिक बजार र अस्वस्थ प्रतिस्पर्धाले नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको कतिपय सङ्गीतकर्मी बताउँछन् । तीज गीतलगायत लोक गीतसङ्गीतमा भित्रिएको विकृति रोक्न स्वयं सर्जक÷कलाकारले स्वनियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ ।

माझीद्वारा स्वरबद्ध उक्त तीज गीतको शब्द र सङ्गीत दुवै सुन्दरमणि अधिकारीको हो । तीजमा माइत जान नपाएकी चेलीको मनोभावना गीतमा पाउन सकिन्छ । तीन वर्षअघि माझीको तीज गीत ‘चरी जेलैमा…’ चर्चित बनेको थियो । सार्वजनिकरुपमा देखा नपर्ने गायिका माझीले गुमनाम अवस्थामै नेपाली लोकसङ्गीतलाई अमर गीत दिइरहनुभएको विश्लेष गरिएको छ ।

गीतको रचना र सङ्गीत सुन्दर मणि अधिकारीको रहेको छ ।