परिक्षा बोर्ड कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारीमा

60Shares
परिक्षा बोर्ड कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारीमा

काठमाडौं,

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ ।

उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेसँगै बोर्डले नतिजा प्रकाशनको तयारी गरेको हो ।

नतिजा प्रकाशनको सम्पूर्ण कार्य सकेर प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने तयारी रहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए ।

शर्माले भने ‘लगभग सबै कुरा सकिएको छ । अब टेक्निकल कुरा बाँकी छ । टेक्निकल कुरा हेरेर निर्णय गर्छौ । शैक्षिक क्यालेण्डरमा यो महिनाको अन्तिम भित्रमा नतिजा प्रकाशन गर्ने भन्ने पनि छ । त्यही भएर यो महिनाभरमा निकाल्छौं ।’

प्राविधिक टिमसँग सल्लाह गरेर कुनै समस्या नआउने यकिन भएको खण्डमा बोर्ड बैठक बसेर नतिजा प्रकाशनबारे निर्णय गरिने अध्यक्ष शर्माले बताए ।
गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थीले ग्रेड बृद्धिका लागि परीक्षामा सहभागी भएका थिए ।