१४ असोज सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएका छुट्टाछुट्टै घटनामा दुई जना बालकको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर बजार आइतबार पनि तनावग्रस्त बनिरहेको छ ।वीरेन्द्रनगरस्थित मुख्य सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबिस नगरपालिका ६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीको शनिबार मृत्यु भएको थियो।यस्तै शुक्रबार वीरेन्द्रनगर नगरपालिका ६ घन्टाघर नजिक रहेको उषा बालवाटिका सेकेन्डरी स्कुलको होस्टलमा ८ वर्षीय बालक सलाम पुलामी मगर मृत भेटिएका थिए। उनी पनि दैलेखकै चामुण्डा विन्द्रासैनी नगरपालिका १ का हुन्। उनी सोही होस्टलमा बसेर कक्षा २ मा पढ्थे।यी छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्। आन्दोलन शनिबारदेखि नै सुरू भएको थियो। शनिबार छुट्टाछुट्टै रूपमा आन्दोलन गरेपछि आइतबार बिहानदेखि भने संयुक्त रूपमा आफन्तले आन्दोलन गरिरहेका छन्।
आन्दोलनमा प्रहरी परिचालन गरिएपछि मुख्य सडकको यरिचोक आसपासमा सवारीसाधन चल्न पाएका छैनन्।उषा बालवाटिकामा मृत्यु भएका बालकका आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गर्दै आन्दोलन जारी राखेका छन्। मृतक सलामी मगरको शव होस्टलबाट कर्णाली प्रदेश अस्पतालमा लगिएको छ। पोष्टमार्टम भने भएको छैन।होस्टलको बेड रूममा बेल्डले झुन्डिएको अवस्थामा भेटिएको उनको मृत्यु भने रहस्यमय नै छ। प्रहरीले पनि यसबारे गहिरो छानबिन गर्नुपर्ने बताएको छ। घटना संवेदनशील देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।मोटरसाइकलको ठक्करबाट मृत्यु भएका बालकका आफन्तले पीडकलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन्। ठक्कर दिएको मोटरसाइकल र चालक प्रहरीले फेला पार्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले फरार भएका चालकको खोजी भइरहेको बताए।संयुक्त रूपमा आन्दोलन गरिरहेका बालकका आफन्तहरूले वीरेन्द्रनगरका चोक(चोकमा टायर बालेर नारा लगाइरहेका छन्।शनिबार उषा बालवाटिकामा बालकका आफन्तले तोडफोडसमेत गरेका थिए। त्यसक्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।