२८ भदौ काठमान्डौ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।बिहीबार पशुपति आर्यघाटमा उनीहरुले दिवंगत पिता नेम्वाङलाई दागबत्ती दिएका हुन् ।
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको मंगलबार हृदयाघात भई निधन भएको थियो ।
नेपालमा नयाँ संविधान बनाउने संविधानसभाको दुई पटक नेतृत्व गरेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको हो ।उनी अहिलेको प्रतिनिधिसभामा सदस्य पनि थिए। उनी इलाम २ बाट निर्वाचित भएर पुनः सांसद बनेका थिए। एमालेका संसदीय दलका उपनेता पनि रहेका नेम्वाङलाई अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्थ्यो।
गत फागुनमा भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका थिए। तर उनी नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए।मङ्गलबार बिहान उनको मृत्युको सूचना पाएपछि राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शोक व्यक्त गरेका छन्।खासगरी नयाँ संविधान जारी गर्न नेम्वाङले खेलेको भूमिका अतुलनीय भएको राजनीतिक दलका नेताहरू र राजनीतिक विश्लेषकहरूले बताएका छन्।सरल जीवनशैली अपनाउने नेम्वाङ पार्टीभित्र मात्रै नभई अन्य दलका नेताका लागि पनि प्रेरणा रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् कानुन विषय प्राध्यापन र वकालतपछि सक्रिय राजनीतिमा लाग्दै संसद् प्रवेश गरेका नेम्वाङ संसद्, कार्यपालिका र न्यायपालिका तीनवटै निकायबारे परख राख्थे।उनी वरिष्ठ अधिवक्ता पनि थिए।