३० कात्तिक बझाङ । बझाङमा अटो दुर्घटनापरी एकै परिवारका चार जनाको मृत्यु भएको छ।
दुर्घटनामा बुङ्गल नगरपालिका–१० की अन्दाजी ३५ वर्षीया राजमती महरा, उनकी २ वर्षीया छोरी रियासा महरा, ६ वर्षीय छोरा रियास महरा र १६ वर्षीया भतिजी तारा महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।अटोमा सवार अन्य दुई जना भने सकुशल छन्।
उनीहरूमा १३ वर्षीय विक्रम महरा र अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातली रहेका छन्।तिहार मनाउन गाउँ पुगेकी राजमती छोराछोरी र भतिजीसहित डडेल्धुरा जाँदै थिइन्। उनका श्रीमान् दीपक महरा शिक्षक हुन्। छोरा र भतिजी डडेल्धुरामै अध्ययनरत रहेकाले उनीहरू उतै जान लागेका थिए।
साउन महिनामा मात्रै श्रीमान् दीपकको सरुवा बझाङ भएको थियो।मंगलबारदेखि विद्यालय खुल्ने भएकाले राजमती सोमबार बिहानै घरबाट अटो चढेर डडेल्धुरा जान हिँडेकी थिइन्। तर, गन्तव्यमा पुग्नुअघि नै उनीसहित चार जनाको दुर्घटनामा ज्यान गएको छ।सोमबार बिहान करिब १० बजेतिर बुङ्गल नगरपालिका–१० टुमेडा गाउँबाट वडा नम्बर ११ को हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो दुर्घटनामा परेको हो।अटोमा चालकसहित ६ जना सवार थिए।स्थानीयका अनुसार एकै परिवारका चार जनाको मृत्यु भएपछि घरपरिवार, आफन्त र सिंगो वडा शोकमा डुबेको छ।