बुधबार, २०असार, २०८०,
काठमाडौं,
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गएराति मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको छलफलपछि लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनमा सघाउन तयार भएको छ । एमालेले बैठकमा अवरोध नगर्न तयार भएको हो ।
बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले बैठकमा अवरोध गर्दै आएको थियो । मंगलबारको बैठक एमालेले बहिष्कार गरेको थियो । यद्यपि एमालेको बहिस्कारका बीच आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रदेश सभाले पारित गरेको थियो ।
बुधबार दिउँसो १ बजे पनि प्रदेश सभाको बैठक राखिएको छ । बैठकको पूर्वसन्ध्यामा सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चौधरी, नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरीसहितको बैठक बोलाएका थिए ।
एमालेले असार १३ गतेदेखि बजेटमाथिको छलफलमा अवरोध गर्दै आएको थियो । मंगलबारको बैठकमा एमालेले बजेट किताब च्यातेर बहिस्कार गरेको थियो । त्यसपछि सभामुख घर्तीमगरले बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा गरेका थिए । लगत्तै उनले नै सदनको काम कारबाही अघि बढाउनका लागि पहल सुरु गरेका थिए ।
बैठकमा एमालेले उठाउँदै आएका मागका सम्बन्धमा मुख्यमन्त्री चौधरीले आजको बैठकमा सम्बोधन गर्ने र एमालेले सदन संचालनमा अवरोध नगर्ने सहमति भएको हो ।