आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकाको सामना गर्दै

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकाको सामना गर्दै

मंगलवार, ५ असार, २०८०

काठमाडौं,

जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज नेपालले अमेरिकाको सामना गर्दै छ । अमेरिका विरुद्धको खेल नेपाली समय अनुसार १२ः४५ बाट शुरू हुनेछ ।

यसअघि घरेलु टोली जिम्बावे विरुद्धको पहिलो खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । यस्तै वेस्ट इन्डिज विरुद्धको पहिलो खेलमा अमेरिका ३९ रनले पराजित भएको थियो । त्यसैले आज दुवै टोली जितको खोजीमा हुनेछन् ।

नेपाल प्रतियोगितामा समूह ‘ए’ मा छ । यो समूहमा नेदरल्यान्ड्स, अमेरिका, वेस्ट इन्डिज र जिम्बावे छन्। समूह ‘बी’ मा ओमान, स्कटल्यान्ड, श्रीलंका, आयरल्यान्ड र यूएई छन् ।

यो प्रतियोगितामा नेपाल सहित १० टोली प्रतिस्पर्धामा छन् । जसमध्ये फाइनलमा पुग्ने दुई टोली १३औं संस्करणको आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् । आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने उक्त विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये आठ टोली छनोट भइसकेका छन् ।